काठमाडौं, साउन २६ - डा. धवलशमशेर राणाको नेतृत्वमा गठन भएको जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने पूर्वनिर्धारित समय पछि सरेको छ। यसअघि साउन २८ गते पार्टी दर्ता गर्ने तयारी गरिए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै मिति सारिएको हो।
पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन तथा दर्ताका लागि आवश्यक काम अझै पूरा नभएको जानकारी दिएका छन्। पार्टीको संगठनात्मक संरचना, विधानलगायत विषयमा आन्तरिक छलफल र तयारी जारी रहेकाले दर्ताको समय पछि सारिएको उनको भनाइ छ।
यद्यपि, पार्टी गठनमा सक्रिय एक नेताका अनुसार सभापति राणा र सर्वोच्च नेता प्रसाईंबीच अधिकार तथा शक्ति बाँडफाँटका विषयमा समेत सहमति जुटाउन बाँकी छ। विशेषगरी निर्वाचनमा उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ।
विधान मस्यौदा समितिका संयोजक माधव कल्पितले भने टिकटमा दुवै नेताको हस्ताक्षर हुने भएकाले यो प्राविधिक विषय मात्र भएको बताएका छन्। उनका अनुसार साउन २८ गतेको दिन दल दर्ताका लागि उपयुक्त नदेखिनु र केही प्रस्तावित केन्द्रीय सदस्य काठमाडौं बाहिर रहेकाले पनि समय सारिएको हो।
जय नेपाल पार्टीले भदौको पहिलो साताभित्र निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ। विधान मस्यौदाअनुसार पार्टीको केन्द्रीय कमिटी ३१९ सदस्यीय हुनेछ भने दर्ताका क्रममा १०१ जना केन्द्रीय सदस्यको सूची आयोगमा बुझाइनेछ।
प्रस्तावित संरचनामा सभापति, सर्वोच्च नेता, बढीमा दुई वरिष्ठ नेता, सात प्रदेशसहित आठ उपसभापति र एक महिलासहित तीन महामन्त्री रहनेछन्। कुल ३१ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ भने केन्द्रीय सदस्यमा सभापति राणा पक्षबाट ४० प्रतिशत, प्रसाईं पक्षबाट ४० प्रतिशत र अन्य पक्षबाट २० प्रतिशत प्रतिनिधित्व गराउने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस