२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारले १५–२० वर्षका लागि बलियो जग खन्दैछ : रवि लामिछाने



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या ३०
  • काठमाडौं, साउन २७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले तत्काल देखिने उपलब्धिभन्दा दीर्घकालीन परिणामलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले सरकार गठन भएको चार महिनाको अवधिमा बाहिरबाट हेर्दा ठूला काम नभएको जस्तो देखिए पनि भविष्यका लागि बलियो आधार निर्माण भइरहेको बताए ।

    उनका अनुसार सरकारले आगामी १५ देखि २० वर्षसम्म प्रभाव पार्ने योजनासहित काम अघि बढाइरहेको छ । अहिलेको प्रयासलाई उनले विकास र सुधारका लागि ‘बलियो जग खन्ने’ प्रक्रियाका रूपमा व्याख्या गरे ।

    लामिछानेले संसदमा युवाको उल्लेख्य सहभागिता हुनु र ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालका लागि महत्वपूर्ण राजनीतिक उपलब्धि भएको बताए । युवाको नेतृत्वमा देशले नयाँ दिशा लिन सक्ने उनको भनाइ थियो ।

    रास्वपा अब केवल राजनीतिक विकल्प खोज्ने अवस्थामा नरहेको उल्लेख गर्दै उनले पार्टी आफैं विकल्प र आगामी दिनमा निर्विकल्प राजनीतिक शक्ति बन्ने लक्ष्यसहित अघि बढिरहेको बताए ।

    युवा सांसद तथा मन्त्रीहरूले पद र जिम्मेवारीमा रमाउनेभन्दा परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । युवाको नेतृत्व असफल भएमा भविष्यमा ‘अनुभव नभएका युवाबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक धारणा बन्न सक्ने भन्दै लामिछानेले जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे।