२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारको कदमको प्रचण्डद्वारा प्रशंसा



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ४६
  • काठमाडौं, साउन २६ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीको प्रशंसा गरेका छन्। उनले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अघि बढाइएको प्रक्रियालाई सकारात्मक कदम भनेका छन्।

    प्रचण्डले हेटौँडा कपडा उद्योग सञ्चालनमा आए कपडाको आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले उत्पादन वृद्धि, आयात न्यूनीकरण र रोजगारी सिर्जनाका लागि यस्ता उद्योगको पुनरुत्थान महत्वपूर्ण रहेको बताए।

    आफू प्रधानमन्त्री हुँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन गरिएको स्मरण गर्दै उनले गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत उद्योग पुनः सञ्चालन गर्ने योजना अघि बढाइएको बताएका छन्।

    यसअघि प्रधानमन्त्री बालेन शाहले पनि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको जानकारी दिएका थिए। परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र त्यसपछि सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी रहेको बताइएको छ।

    सरकारका अनुसार डीडीसी, नेपाल औषधि लिमिटेड र नेपाल वायुसेवा निगमलगायत संस्थानमा समेत सुधारका संकेत देखिएका छन्। डीडीसीको बिक्री तथा राजस्व बढेको, औषधि लिमिटेड नाफामा गएको र नेपाल एयरलाइन्सको आम्दानीमा वृद्धि भएको सरकारको दाबी छ।

    प्रचण्डले आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित सम्भावना भएका सार्वजनिक उद्योग पुनः सञ्चालन गर्न सके आत्मनिर्भर अर्थतन्त्र निर्माणमा नेपालले ठूलो फड्को मार्न सक्ने बताएका छन्। उनले सरकारले यो प्रक्रियालाई परिणाममुखी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्।