काठमाडौँ, जेठ १० - संस्थागत सामाजिक उत्तरदायित्व (CSR) क्षेत्रलाई मजबुत बनाउँदै नेपाल–भारतबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘इन्डो नेपाल सिएसआर समिट’ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बिफक्याप नेपालको आयोजनामा तथा 'dZi Foundation' को सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन प्रतिनिधि सभाकी उप–सभामुखले गर्नुभयो थियो। उहाँले नेपालमा सिएसआरको रकम खर्च गर्दा अपेक्षित प्रभाव नपरेको उल्लेख गर्दै कर्पोरेट कम्पनीहरूले यसप्रति गम्भीरता नदेखाएको बताउनुभयो। “सिएसआर भनेको केवल पैसा खर्च गर्नु मात्र होइन, व्यवसायको सामाजिक कर्तव्य पनि हो,” उहाँले भन्नुभयो, “हामी सिएसआर सम्बन्धी नीति निर्माणका लागि बहस गरिरहेका छौँ, यसमा कर्पोरेट समुदायको पनि सक्रिय सहभागिता आवश्यक छ।”
कार्यक्रमका विशिष्ट बक्ता नेपाल इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका उपाध्यक्ष तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सिएसआरसम्बन्धी यस्तो महत्वपूर्ण छलफलमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले सूर्य नेपाललगायतका ठूला कर्पोरेट संस्थाहरूले सिएसआरमार्फत सहकार्य गर्दा दिगो विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
बिफक्याप नेपालका सिइओ मनोज रेग्मीले समिटबाट संकलित स्रोतले पूर्वी नेपालका भोजपुर, सोलुखुम्बु र खोटाङ जिल्लाका ४०० जना उद्यमीलाई वित्तीय साक्षरताको तालिम प्रदान गरिने जानकारी दिनुभयो। साथै, आगामी वर्ष ‘एशिया सिएसआर समिट’ गर्ने योजनासमेत सार्वजनिक गर्नुभयो।
समिटका विभिन्न सत्रहरूमा भारतका प्रतिष्ठित संस्थाका प्रतिनिधिहरुले सिएसआरका मोडालिटीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै मात्र त्यसपछि समाजसेवाका कार्यक्रमहरू स्थायी रूपमा प्रभाव पार्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपालका सांसदहरू, मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू, भारत तथा नेपालको सिएसआर विशेषज्ञहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू, र निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिफक्याप नेपालले विगतदेखि नै देश तथा विदेशमा रहेका हजारौं युवामाझ सीप विकास, मानव विकास, क्षमता अभिवृद्धि तथा वित्तीय साक्षरतासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नेपालमै पहिलोपटक सांसदहरूलाई वित्तीय साक्षरताको तालिम प्रदान गर्ने संस्थाका रूपमा समेत बिफक्याप नेपाललाई चिनिन्छ।
प्रतिक्रिया दिनुहोस