काठमाडौं, जेठ १२ – भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोप लागिरहेका गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन जनाएका छन्।
विपक्षी दलहरूले राजीनामाको माग गर्दै चर्को विरोध गरिरहेका बेला सोमबार बिहान बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले गृहमन्त्री लेखकलाई राजीनामा नदिन र संसद्मा स्पष्ट रूपमा आफ्नो पक्ष राख्न निर्देशन दिएका हुन्।
बैठकमा लेखकले त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छापासँग सम्बन्धित विवरण प्रस्तुत गरेका थिए। त्यसक्रममा कुनै प्रमाण नपाइएको भन्दै सभापति देउवाले लेखकमाथि लागेको आरोप केवल अफवाह मात्र भएको बताएका थिए।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'का अनुसार देउवाले भनेका थिए, "अनुसन्धान गर्ने निकायले लेखकमाथि औपचारिक छानबिन सुरु गरेको छैन, प्रमाण पनि केही छैन। केवल आरोप लाग्दैमा राजीनामा दिनु आवश्यक छैन, डटेर सामना गर्नुपर्छ।"
यता, प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले पनि गृहमन्त्री लेखकलाई ‘नडराउन’ सुझाव दिएका छन्। आइतबार लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँगै प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई भेट्न बालुवाटार पुगेका थिए। त्यसपछि भएको बैठकमा पनि उनीहरूमध्ये कसैले राजीनामाको आवश्यकता नरहेको बताएका थिए।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठकमा उपसभापति खड्का र लेखकले भनेका थिए, "बाहिर जसले जे भने पनि डराउन पर्दैन, छानबिनको दायरामा पनि छैन।"
अर्थमन्त्री पौडेलले त झन् स्पष्ट रूपमा भनेका थिए, "एउटा कर्मचारीमाथि छानबिन हुँदैमा गृहमन्त्री किन डराउनुहुन्छ? तपाईँ निर्भीक भएर काम गर्नुस्।"
प्रधानमन्त्री र अर्थमन्त्रीको समर्थन पाएपछि गृहमन्त्री लेखकले मंगलबारको संसद् बैठकमा आफूमाथि लागेका आरोपबारे स्पष्ट रुपमा धारणा राख्ने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस