काठमाडौं , जेठ १९ - राइड सेयरिङ र सेल्फ ड्राइभ सवारी सञ्चालनको सरकारी निर्णयको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आह्वान गरेको देशव्यापी चक्काजामका बीच गृहमन्त्री रमेश लेखक र व्यवसायी प्रतिनिधिहरूबीच छलफल जारी रहेको छ।
गृहमन्त्रालयमा केही समयअघि सुरु भएको छलफलमा दुबै पक्ष आफ्ना अडानसहित प्रस्तुत भएका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नेतृत्वमा चक्काजामको घोषणा गरिएको हो।
यातायात व्यवसायीले आज एक दिन सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेका कारण देशभरका यात्रुहरू मर्कामा परेका छन्। विशेषगरी काठमाडौं उपत्यकामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन पूर्णरूपमा ठप्प छन्।
सवारी नचलेपछि राजधानीका सडकहरू आज बिहानैदेखि सुनसान देखिएका छन्। निजी मोटरसाइकल, कार र थोरै ट्याक्सीहरू मात्रै सडकमा देखिएका छन्। सार्वजनिक बस, माइक्रोबस र टेम्पोहरू भने चलेका छैनन्।
बस स्टपहरूमा गाडीको प्रतीक्षामा बसेका यात्रुहरू देखा परेका छन् भने कोही पठाओ सेवाको प्रयोग गर्दै छन्, त कोही पैदलै गन्तव्यतर्फ लागेका छन्।
गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीअनुसार राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा सञ्चालन गर्न दिने निर्णयको विरोधमा व्यवसायी आन्दोलित भएका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अघिल्ला दिनहरूको तुलनामा आज सार्वजनिक सवारी अत्यन्तै न्यून मात्रामा सञ्चालनमा छन्।
सरकार र व्यवसायीबीचको छलफलबाट समस्या समाधानको बाटो खुल्ने अपेक्षा गरिए पनि हालसम्म निष्कर्ष निस्किएको छैन।
प्रतिक्रिया दिनुहोस