२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारी सहयोग कटौतीको चेतावनीपछि मस्कको कडा प्रतिक्रिया: ट्रम्पलाई महाअभियोग लगाउनुपर्छ

मस्कले ट्रम्पको कर नीतिको आलोचना गर्दै आएका थिए



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या २६७
  • काठमाडौं, जेठ २३ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलन मस्कबीचको विवाद सार्वजनिकरूपमा चुलिएको छ।

    ट्रम्पले मस्कका कम्पनीहरूसँगको सरकारी सम्बन्ध तोड्ने चेतावनी दिएपछि मस्कले तीव्र प्रतिक्रिया दिँदै ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्।

    हालै राष्ट्रपति ट्रम्पले मस्कलाई सरकारी खर्च कटौतीसम्बन्धी निकायको प्रमुखमा नियुक्त गरेका थिए। तर मस्कले उक्त जिम्मेवारीबाट अलग भएपछि दुईबीचको विवाद सार्वजनिकरूपमा फैलिएको हो। त्यसयता सामाजिक सञ्जाल र विभिन्न मिडिया प्लाटफर्ममार्फत उनीहरूबीच आरोप–प्रत्यारोपको सिलसिला चलिरहेको छ।

    मस्कले ट्रम्पको कर नीतिको आलोचना गर्दै आएका थिए। यसको प्रतिक्रियामा ट्रम्पले मस्कलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरेका थिए। जवाफमा मस्कले ट्रम्प आफ्नो समर्थन बिना चुनाव जित्न नसक्ने भन्दै उनीमाथि विश्वासघातको आरोप लगाए।

    मस्कले अब नयाँ राजनीतिक पार्टी गठन गर्ने समय आएकोसमेत बताएका छन्। यसका लागि उनले जनमत संकलनको काम सुरु भइसकेको जानकारी दिएका छन्।

    ट्रम्पको चेतावनीपछि मस्कको टेस्ला कम्पनीको शेयर बजारमा १४ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। एलन मस्क स्पेस एक्स, टेस्ला, एक्स (साविकको ट्विटर) लगायतका ठूला प्रविधि कम्पनीका मालिक हुन्।

    सरकारी सम्बन्ध समाप्त गर्ने ट्रम्पको अभिव्यक्तिपछि मस्कले स्पेस एक्स कम्पनीको ‘ड्रागन’ अन्तरीक्ष यानको योजना स्थगित गर्ने घोषणा समेत गरेका छन्।

    ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “मस्कसँग मेरो पहिले राम्रो सम्बन्ध थियो। तर अहिले त्यो कहाँ जान्छ, मलाई थाहा छैन। म उनीबाट निकै निराश छु। मैले उनलाई धेरै सहयोग गरेको थिएँ।”