२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संसद् अवरोध खोल्न दुई बुँदामा सहमतिको प्रयास, रास्वपाको छुट्टै प्रस्ताव

प्रतिनिधिसभाको अवरोध अन्त्य गर्न दुई बुँदामा सहमति जुटाउने प्रयास भइरहेका छन्।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या १०५
  • काठमाडौं, जेठ २९ - प्रतिनिधिसभाको अवरोध अन्त्य गर्न दुई बुँदामा सहमति जुटाउने प्रयास भइरहेका छन्। प्रमुख राजनीतिक दलहरूबीच अख्तियारको छानबिन र अध्यागमन प्रणालीको कमजोरी सुधारमा केन्द्रित दुई बुँदे प्रस्तावमा छलफल जारी छ।

    नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि तयार पारिएको दुई बुँदे सहमतिमा टेकेर अवरोध खोल्ने प्रयास भइरहेको हो। बुधबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, "अख्तियारलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने र अध्यागमनको कमजोरी सच्याउन पहल गर्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।"

    यो विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मस्यौदा तयारी भइसकेको छ। मस्यौदाको पहिलो बुँदामा अख्तियारले अनुसन्धान सकिनेबेलासम्म सरकार र संसद्ले पूर्ण सहयोग गर्ने उल्लेख गरिएको छ। दोस्रो बुँदामा २०६४ सालपछि भिजिट भिसामा विदेश गएकाहरूका आर्थिक गतिविधिमा अपारदर्शिता भएको आशंकामा अध्ययन गर्न नयाँ संयन्त्र बनाउने प्रस्ताव राखिएको छ।

    तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यो प्रस्तावमा सहमत छैन। उसले छुट्टै पाँच बुँदे प्रस्ताव अघि सारेको छ, जसमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने माग गरिएको छ। तर सत्तारूढ पक्षले रास्वपाको प्रस्ताव स्वीकार गरेको छैन।

    सुरुमा मौन रहेको एमाले अहिले भने दुई बुँदे मस्यौदामा आधारित सहमतिमा अघि बढ्न तयार देखिएको छ। सांसद भट्टराईले यही निष्कर्ष पत्रकारहरूसामु प्रस्तुत गरेका हुन्। विपक्षी दलका नेताहरू संसद् भवन परिसरमै छलफलमा जुटिरहेका छन्।