२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोरखा–लमजुङको संयुक्त रोपाइँमा नेकपाको सक्रिय सहभागिता, गण्डकीभर २०० रोपनीमा धान रोप्ने लक्ष्य



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या २२५
  • पोखरा, असार ८ - नेकपाका नेता–कार्यकर्ताहरूले शनिबार बिहानैदेखि गोरखाको पालुङटार नगरपालिका–३, तल्लो शेराको खेतमा धान रोप्न जुटेका हुन।

    गोरखा र लमजुङ जिल्लाको संयुक्त आयोजनामा सम्पन्न उक्त रोपाइँ कार्यक्रममा पार्टीको झण्डा फहराइरहेको थियो भने खेतभरि रोपाइँ गीतहरू गुञ्जिरहेका थिए। महिलाहरू बिउ काट्न व्यस्त देखिन्थे भने केही ट्र्याक्टरहरूले खेत माडिरहेका थिए।

    करीब ४५ रोपनी जमिनमा कञ्चन जातको धान रोपिएको यो बृहत् कार्यक्रमलाई नेकपाका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेल ‘शिलु’ ले विशेष उपस्थितिमा अगुवाइ गरिन्।

    शिलु आफैं बिउ काट्न र रोप्न सक्रिय रूपमा सहभागी थिइन्। कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विकिरण, कपिल, काजी, प्रसिद्ध, लमजुङ जिल्ला सेक्रेटरी रविन्द्र लगायत स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    नेता शिलुले जानकारी दिँदै भनिन्, “हामीले म्याग्दीमा रोपाइँ सक्यौं, आज गोरखा र लमजुङमा सम्पन्न भयो, अब गण्डकीका अन्य जिल्लाहरूमा तयारी भइरहेको छ।” उनका अनुसार, नेकपाले यस वर्ष गण्डकी प्रदेशभर करिब २०० भन्दा धेरै रोपनी जमिनमा धान रोप्ने लक्ष्य लिएको छ। त्यसका लागि असार १० गतेदेखि एक महिनासम्म सम्पूर्ण नेता–कार्यकर्तालाई उत्पादनमा खटिन विशेष आग्रह गरिएको बताइन्।

    नेकपाले कृषि, सहकार्य र श्रमलाई प्राथमिकता दिँदै उत्पादनमै बाटो हुँदै समृद्धिको यात्रा तय गर्ने सन्देश फैलाउँदै आएको छ। उत्पादन अभियानमा पार्टीका नेता–कार्यकर्तासँगै सर्वसाधारणको पनि उल्लेखनीय सहभागिता देखिएको थियो। कृषिमा जोड दिँदै पार्टीले नीतिगत रूपमा उत्पादन र श्रमलाई आन्दोलनकै मुख्य अङ्गका रूपमा अघि सारेको जनाएको छ।