काठमाडौं, जेठ ७ - प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकारले बाँदर आतंक नियन्त्रणमा ठोस कदम नचाले संसद् बैठक सञ्चालनमा समस्या आउन सक्ने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो असुविधा र समस्या सिर्जना गरेको उल्लेख गर्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। उनले प्रश्न पनि उठाए, “यदि कुनै नागरिकले बदमासी गर्छ भने प्रहरीले उनलाई नियन्त्रणमा लिन्छ र जेल पठाउँछ, तर बाँदरले जनतालाई ठुलो क्षति पुर्याउँदा सरकारले किन कदम चाल्दैन?”
सांसद राईले थपे, “आज बाँदरका कारण सयौँ परिवारले दाल, भात, तरकारी खान पाएनन्। जनजीवनमा यस्तो ठूलो समस्या हुँदा सरकार गम्भीर हुनुपर्छ। बाँदरको नियन्त्रणमा सरकारको ध्यानाकर्षण अत्यन्त आवश्यक छ। यदि सरकारले ७ दिनभित्र ठोस कदम उठाएन भने संसद् बैठक सञ्चालनमा कठिनाइ हुनेछ।”
उनले सरकारसँग तत्काल बाँदर नियन्त्रणका लागि प्रभावकारी उपाय लागू गर्न आग्रह गरेका छन् र जनताको सुरक्षा र दैनिकीमा असर पुर्याउने यस समस्यालाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे।
प्रतिक्रिया दिनुहोस