स्याङ्जा, असार १६ - परम्परागत कृषि प्रणालीलाई संरक्षण गर्दै हल गोरु पालनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्याङ्जाको गल्याङ नगरपालिकाले ११५ जना कृषकलाई जनही पाँच हजार रुपैयाँका दरले प्रोत्साहन अनुदान वितरण गरेको छ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअन्तर्गत हल गोरु पाल्ने कृषकलाई आर्थिक सहयोग उपलब्ध गराएको हो। नगरपालिकाका अनुसार ११५ कृषकबाट ११६ हल गोरुको आवेदन परेपछि आवश्यक प्रक्रिया पूरा गरी प्रोत्साहन रकम बैंक खातामार्फत भुक्तानी गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार पछिल्लो समय पावर टिलरजस्ता यान्त्रिक उपकरणको प्रयोग बढ्दै जाँदा हल गोरु पाल्ने चलन घट्दै गएको छ। ग्रामीण क्षेत्रमा इन्धनको सहज उपलब्धता, मर्मतसम्भारको समस्या तथा दक्ष जनशक्तिको अभावलाई ध्यानमा राख्दै परम्परागत कृषि प्रणालीलाई जोगाउन यस्तो कार्यक्रम ल्याइएको उनले बताए।
नगरपालिकाले यसअघि सूचना प्रकाशित गरी हल गोरु पाल्ने कृषकसँग आवेदन मागेको थियो। आवेदन दिने कृषकले गोरुको बिमा गरेको प्रमाण, गोठमा रहेको हल गोरुको तस्बिर लगायतका आवश्यक कागजात पेश गरेपछि पशु सेवा शाखाले स्थलगत अनुगमन गरी अनुदान वितरण प्रक्रिया अघि बढाएको जनाएको छ।
नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक महादेव बनका अनुसार ११ वटै वडाबाट आवेदन परेका थिए। उनले नगरपालिकाभित्र हल गोरु पाल्ने कृषकको संख्या आवेदन परेकाभन्दा बढी रहेको अनुमान गर्दै सूचना नपाएका वा आवेदन नदिएका कृषक पनि रहेको हुन सक्ने बताए।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस वर्ष प्रोत्साहन रकमबाट वञ्चित भएका हल गोरु पाल्ने कृषकलाई आगामी वर्ष प्राथमिकतामा राखेर अनुदान उपलब्ध गराइने नगरपालिकाको योजना छ।
प्रतिक्रिया दिनुहोस