१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्यालयको छाना दुई वर्षदेखि उडिएको, मर्मत नहुँदा पढाइ प्रभावित

विद्यालयको छाना दुई वर्षअघि हावाहुरीले उडाएपछि हालसम्म मर्मत नहुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ।



  • क्वालिटी खबर
  • १० महिना अघि
  • पाठक संख्या २४७
  • दार्चुला, असार ९ — दार्चुलाको शैल्यशिखर नगरपालिका–७ मा रहेको भैरवनाथ आधारभूत विद्यालयको छाना दुई वर्षअघि हावाहुरीले उडाएपछि हालसम्म मर्मत नहुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ।

    विद्यालयको छाना २०७९ सालमा आएको हावाहुरीले उडाएको थियो। तर, सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन नहुँदा अहिलेसम्म मर्मत कार्य अघि नबढेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा सामान्य डेस्क–बेञ्चसमेत अभाव रहेको र बालबालिका कार्पेटमा बसेर पढ्न बाध्य रहेको अभिभावकको गुनासो छ।

    “विद्यालयमा न त बस्ने बेञ्च छ, न छाना, न ढोका नै। कहिलेदेखि हाम्रा बालबालिकाले सुरक्षित वातावरणमा पढ्न पाउँछन् भन्ने निश्चित छैन,” एक अभिभावकले बताए।

    विद्यालय २०६८ सालमा स्थापना भएको हो। हाल यहाँ कक्षा ३ सम्मको पढाइ हुँदै आएको छ। विद्यार्थी संख्या ३४ जना रहेकोमा नियमित २५ जना मात्र उपस्थित हुने गरेको विद्यालयले जनाएको छ।

    स्थानीय बासिन्दाहरूका अनुसार बालबालिका त्रासको वातावरणमा पढ्न बाध्य छन्। भवन निर्माणका लागि स्थानीय सरकारसहित कसैले चासो नदेखाएको उनीहरूको आरोप छ।