१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विमानस्थलबाट फर्काइँदै एनओसीविना जाने भारतीय नागरिक, स्क्यान विवरण अनिवार्य

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार सबै आवश्यक कागजातको डिजिटल प्रतिलिपि राख्न अनिवार्य गरिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २०४
  • काठमाडौं, असार १३ – भिजिट भिसाका नाममा विदेशी नागरिकलाई ‘सेटिङ’ मिलाएर पठाउने प्रकरण सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ थालिएको छ।

    अबदेखि एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) विना विदेश जान खोज्ने भारतीय नागरिकलाई विमानस्थलबाटै फर्काइने कार्य तीव्र बनाइएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै गरेको छानबिनले विमानस्थल अध्यागमनबाट चार महिनामा २१२ जना भारतीय नागरिक एनओसीविना विदेश गएको खुलासा गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमनमा कडाइ गर्न निर्देशन दिएको हो।

    प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको बैठकले अबदेखि नेपाली र विदेशी दुवै यात्रुका लागि भिसा तथा होटल बुकिङको स्क्यान कपी अनिवार्य गर्ने निर्णय गरेको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार सबै आवश्यक कागजातको डिजिटल प्रतिलिपि राख्न अनिवार्य गरिएको छ।

    “कतिपय अवस्थामा छानबिन गर्नुपर्दा छुट्याउन गाह्रो हुने भएकोले डिजिटल कपी राख्ने निर्णय गरिएको हो,” रिजालले भने।

    उक्त निर्णयसँगै अहिले भारतीय नागरिकहरुलाई एनओसी नभएसम्म विमानस्थलबाट विदेश जान नदिइने भएको छ। भारतीय दूतावासले समेत यसप्रति चासो देखाइसकेको छ।

    यसैबीच, सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। तर वैरागी नेतृत्वको समिति प्रति विपक्षी दलहरुले प्रश्न उठाइरहेका छन्।

    प्रधानमन्त्री कार्यालयको बैठकमा गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, राहदानी विभाग, सूचना प्रविधि मन्त्रालय लगायतका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।