२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भोजपुरमा श्रीमतीसहित चार जनाको सामूहिक हत्या, हत्यारा आफैँ गम्भीर घाइते

एक युवकले आफ्नै श्रीमतीसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १८७
  • भोजपुर, असार २२ - भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एक युवकले आफ्नै श्रीमतीसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।

    २७ वर्षीय राजेन्द्र राईले श्रीमती, ससुरा, सासू र सालोको हत्या गरेका हुन्। प्रहरीले जनाएको अनुसार हत्या गरिएका व्यक्तिहरूमा १६ वर्षीया श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरी छन्।

    घटनामा आरोपित राजेन्द्र राई आफैँ पनि गम्भीर घाइते भएका छन्। उनको पेटमा गहिरो चोट लागेको र प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठले जानकारी दिए।

    प्रहरीलाई दिएको प्रारम्भिक बयानमा राजेन्द्रले सासूले नै राति सुतिरहेको बेला आफूमाथि छुरी प्रहार गरेको दाबी गरेका छन्।

    उनका अनुसार उनले सासूको हातबाट छुरी खोसेर त्यसै छुरीले चारै जनामाथि प्रहार गरेका थिए। हत्या गरेपछि राजेन्द्रले आफैँ प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिएका थिए। “मैले चार जनालाई छुरी हानेको छु, सायद मरिसके होलान्,” भन्दै उनले प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीका अनुसार राजेन्द्रले केही महिनाअघि मनिषा गिरीलाई भगाएर दोस्रो विवाह गरेका थिए। मनिषा १६ वर्षकी नाबालिग भएकाले परिवारले सम्बन्ध स्वीकार गरेका थिएनन्।

    मनिषा एक महिनादेखि माइतमा बसिरहेकी थिइन्। राजेन्द्र ४–५ दिनअघि मात्रै उनलाई लिन ससुराली गएका थिए। तर ससुराली पक्षले छोरी दिन नमानेपछि विवाद चर्किएको र त्यसकै कारण यस्तो भयावह घटना घटेको प्रहरीको अनुमान छ।

    घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। मृतक सबैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको इन्सपेक्टर श्रेष्ठले बताए।

    घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र घाइते आरोपित राजेन्द्रको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।