२४ असार २०८२ मंगलबार | 08 Jul 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोरङको रतुवामाईमा ६० वर्षीया महिलाको हत्या, देवर पक्राउ

रतुवामाई नगरपालिका–६ मा एक ६० वर्षीया महिलाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ।



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या ४९
  • विराटनगर, असार २४ - मोरङको रतुवामाई नगरपालिका–६ मा एक ६० वर्षीया महिलाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ।

    गणेशबहादुर बस्नेतकी पत्नी टीकामाया कार्की बस्नेतको हत्या आरोपमा ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार मृतक टीकामाया र आरोपी टंक देवर–भाउजु हुन्।

    जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार टीकामायाको शव असार २१ गते आफ्नै बारीमा घाँस काट्न गएका अवस्थामा फालिएको अवस्थामा फेला परेको थियो। शव परीक्षणमा उनको टाउको पछाडि गम्भीर चोट देखिएको थियो।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा अंश विवादकै कारण टंकले भाउजूको हत्या गरेको खुलेको छ। गणेश र उनका भाइ टंकबीच पुर्खौली सम्पत्तिको अंश बाँडफाँटका विषयमा लामो समयदेखि विवाद चलिरहेको थियो। सो विवाद अदालतसम्म पुगेको र रिसइबीको कारण हत्या भएको प्रहरीको भनाइ छ।

    प्रहरीका अनुसार टंक र गणेश फरक आमाका सन्तान हुन्। टंकले हँसियाको बिँडले प्रहार गरेर टीकामायाको हत्या गरेका हुन्। उनलाई सोमबार दिउँसो घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ भने टंकमाथि कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।