२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आफताब आलमको सफाइविरुद्ध सरकार सर्वोच्च अदालतमा



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १७५
  • काठमाडौं, साउन २ - नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला उल्ट्याउन सरकार सर्वोच्च अदालत पुगेको छ।

    उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासले गत जेठ १४ गते आलमसहितका आरोपितलाई ज्यान मुद्दामा सफाइ दिने फैसला गरेको थियो। सो फैसलापछि सार्वजनिक चासो र आलोचना बढेपछि महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको हो।

    महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भइसकेको पुष्टि गरे। यसअघि २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए।

    महान्यायाधिवक्ता कार्यालयका अनुसार उच्च अदालतले प्रमाणको समुचित मूल्यांकन नगरी आलमलाई सफाइ दिएको भन्दै पुनरावेदन गरिएको हो। कार्यालयले उच्च अदालतबाट सफाइ पाएका साथै जिल्ला अदालतबाट सफाइ पाएका सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै एकैपटक पुनरावेदन दायर गरेको छ।

    उच्च अदालतको सो फैसलामा न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन संलग्न थिए।

    सरकारको तर्फबाट प्रस्तुत पुनरावेदनसँगै बहुप्रतिक्षित यो मुद्दा अब सर्वोच्च अदालतमा टुंगो लाग्नेछ।