काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत सुनिश्चित हुने दाबी गरेका छन्।
सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताबद्ध भएर अघि बढे बहुमत ल्याउन कसैले रोक्न नसक्ने स्पष्ट पारे।
ओलीले बैठकमा पार्टीभित्र एकता, दृढता र स्पष्ट दृष्टिकोण कायम गर्न सके आगामी २०८४ सालको निर्वाचनमा एमाले सशक्त शक्ति बनेर उभिने विश्वास व्यक्त गरे।
एक केन्द्रीय सदस्यका अनुसार, ओलीले बैठकमा भने, “एक ढिक्का भएर अघि बढ्न सकियो भने हाम्रो विजय सुनिश्चित छ। अहिले पनि हामी सरकारको नेतृत्व गरिरहेका छौं, १३ महिना भइसक्यो। कसैले भनेका थिए – केपी ओली बिना एमाले, एमाले बिना नेपाल बनाउँछौं, तर आजको अवस्था त्यसको ठीक उल्टो छ।”
बैठकमा ओलीको यस्तो अभिव्यक्ति पार्टीको आत्मविश्वास अभिवृद्धि गर्न र आगामी निर्वाचनको तयारी सुदृढ गर्न केन्द्रित देखिएको छ। एमालेले च्यासलमा जारी बैठकमार्फत विधान संशोधन र संगठन सुदृढीकरणका विषयमा पनि छलफल गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस