१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेको स्पष्ट निर्णय : भण्डारीलाई राजनीतिमा सक्रिय हुन नदिन आठ कारणसहितको निष्कर्ष



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २२५
  • काठमाडौँ, साउन ७ – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। दुई दिनसम्म चलेको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिक सक्रियता निषेध गर्न विशेष आग्रह गर्दै सदस्यता नवीकरण प्रक्रिया रोकेको हो।

    प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पूर्वराष्ट्रपतिजस्ता संवैधानिक पद ओगटिसकेका व्यक्तिहरू कुनै राजनीतिक दलको सदस्य वा नेता बन्नु संविधानको मर्म र भावना विपरीत हुन्छ।” विज्ञप्तिमा संविधानको भाग ६ धारा ६१ को उल्लेख गर्दै राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालक तथा सेनाको परमाधिपति हुने जिम्मेवारीमा आधारित भएको स्पष्ट पारिएको छ।

    एमालेले पूर्वराष्ट्रपतिका हैसियतले विद्यादेवी भण्डारीले सबै नागरिकका साझा प्रतिनिधि र राष्ट्रिय गौरवको प्रतिकको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्नु उचित हुने ठहर गरेको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भण्डारीलाई राजनीतिक भूमिकाबाट टाढै रहन र पूर्वराष्ट्रपति कै रूपमा रहन आग्रह गरिएको छ।

    विज्ञप्तामा भण्डारीको सक्रिय राजनीतिमा प्रवेशले पार्टीभित्र मात्र नभई मुलुककै संवैधानिक अभ्यासमा प्रश्न उठ्न सक्ने भन्दै आठवटा आधार प्रस्तुत गरिएको छ। जसमा गणतन्त्रको संरक्षण, संवैधानिक मर्यादा, सेनाको नेतृत्व भूमिका र साझा राष्ट्रिय व्यक्तित्वको जिम्मेवारी उल्लेखनीय छन्।

    यस निर्णयसँगै विद्यादेवी भण्डारीको पुनः सक्रिय राजनीतिक भूमिकामा फर्किने चर्चा औपचारिक रूपमा बन्द भएको संकेत देखिएको छ। एमालेले उनीप्रति सम्मान प्रकट गर्दै दलको जिम्मेवारीभन्दा माथि रहन सुझाव दिएको छ।