६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संवैधानिक निकायमा कार्यकर्ता भर्तीको प्रयास भन्दै रास्वपाको आपत्ति



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १६६
  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवैधानिक निकायमा सत्तारूढ दलका कार्यकर्ता भर्ना गर्न खोजिएको आरोप लगाएको छ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद विनीता कठायतले कुलिङ अफ पिरियड हटाउन गरिएको प्रयासप्रति आपत्ति जनाउँदै यसले संवैधानिक निकायलाई राजनीतिक रंगमा रंग्याउने खतरा रहेको बताइन्।

    सांसद कठायतले एमालेले दुई वर्षे कुलिङ अफ पिरियड नराख्न खोज्नुको पछाडि दलगत स्वार्थ लुकेको आशंका व्यक्त गरिन्। “जनताले संवैधानिक अंगहरूलाई हेर्ने दृष्टिकोण गम्भीर हुँदैछ, यस्ता प्रयासप्रति सचेत रहन जरुरी छ,” उनले भनिन्। साथै, उनले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर सरकार जिम्मेवारीबाट पन्छिन खोजेको आरोप समेत लगाइन्।

    कठायतले यो विषय अन्तर्राष्ट्रिय समुदायले समेत चासोपूर्वक हेरिरहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन्। उनका अनुसार माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।

    त्यस्तै, राप्रपा सांसद धवलशम्शेर जबराले गत चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई लिएर राज्यले अत्यधिक बल प्रयोग गरेको आरोप दोहोर्याए। उनले सो घटनामा झुटा मुद्दा लगाइएको दाबी गर्दै न्यायालयबाट न्यायको अपेक्षा व्यक्त गरे। जबराले घटनाको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग समेत अघि सारे।

    भिजिट भिसा प्रकरण र तीनकुने घटनाको विरोधमा रास्वपा र राप्रपाका सांसदहरूले शुक्रबारको बैठक पनि बहिष्कार गरेका छन्।