काठमाडौं, साउन १३ – नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा जारी गरिएको १२औं अन्तर पार्टी सर्कुलरमार्फत पार्टीले भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश संविधानको मर्मविपरीत हुने तर्कसहित अस्वीकार गरेको हो।
एमालेले स्पष्ट रूपमा भनेको छ कि राष्ट्रपति जस्तो उच्च संवैधानिक पदमा रहेका व्यक्तिले पुनः पार्टी राजनीतिमा फर्कनु उचित नहुने हो। “उहाँ राष्ट्रकै गौरव हुनुहुन्छ, कार्यकर्ता होइन। यस्तो गरिमायुक्त व्यक्तित्वले निष्पक्ष र सम्मानजनक भूमिकामा बसिरहनुपर्छ,” सर्कुलरमा उल्लेख छ।
पार्टीको विधानको धारा ८ अनुसार सदस्यता नवीकरणको प्रक्रिया भए तापनि, भण्डारीको राजनीतिक सक्रियताको मनसाय देखिएपछि त्यो प्रक्रिया रोकिएको एमालेको भनाइ छ।
एमालेले लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणाली नभई एक गहिरो संस्कृति र आचरण भएको उल्लेख गर्दै पूर्वराष्ट्रपतिले त्यही सम्मानजक गरिमा कायम राख्नुपर्ने उल्लेख गरेको छ।
भण्डारीले विगतमा पार्टीको उपाध्यक्ष, संविधान निर्माणमा योगदानकर्ता तथा राष्ट्रपतिको जिम्मेवारी समेत सम्हाल्दै लैंगिक समानता र समावेशिताको क्षेत्रमा उल्लेखनीय काम गरिसकेको एमालेले स्मरण गरेको छ। तर, एमालेले जोड दिएको छ कि यस्तो ऐतिहासिक पृष्ठभूमि बोकेको व्यक्तित्वले विवादमा आउने राजनीतिक पुनरागमन गर्नु असह्य हुन सक्छ।
“राष्ट्रको नेता भइसकेको व्यक्ति फेरि दलको कार्यकर्ता बन्न खोज्दा विगतका कामहरू नै प्रश्नको घेरामा पर्न सक्छन्,” पार्टीको अपानीमा उल्लेख छ। एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्रको गहना’ भन्दै सम्मानजनक रूपमा सार्वजनिक जीवन बिताउन सुझाव दिएको छ।
एमालेको धारणा छ – संवैधानिक संस्थाको मर्यादा जोगाउन, लोकतान्त्रिक मूल्यको रक्षा गर्न र व्यक्ति विशेषको गरिमा कायम राख्न भण्डारीले पार्टी राजनीतिबाट टाढै रहनु उचित हुनेछ।
प्रतिक्रिया दिनुहोस