१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेको निर्णय : विद्यादेवी भण्डारीबारे पार्टीभित्र बहसमा रोक, झण्डाको रंग परिवर्तन प्रस्ताव



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १६१
  • काठमाडौं, साउन १३ - नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर पार्टीभित्र चलिरहेको बहसमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। साथै, पार्टीको झण्डामा रहेको सेतो हँसिया-हथौडाको रंग सुनौलोमा परिवर्तन गर्ने प्रस्तावसमेत अघि सारिएको छ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित ‘अपानि १२’ नामक आधिकारिक दस्तावेजमा स्पष्ट उल्लेख गरिएको छ कि भण्डारीबारे अब कुनै प्रकारको बहस, छलफल वा विवाद नगर्न कार्यकर्ता र नेताहरुलाई निर्देशन दिइएको छ। पार्टीले उनी राष्ट्रको गौरव भएकाले सक्रिय राजनीतिमा फर्किनु अनुचित हुने ठहर गरेको छ।

    गत साता सम्पन्न पार्टीको नवौं केन्द्रीय कमिटी बैठक (साउन ६ र ७) मा भण्डारीको राजनीतिक भूमिकालाई लिएर मतभेद देखिएपछि, केन्द्रीय निर्णयमार्फत एकैचोटि विषय टुंगोमा पुर्‍याइएको हो।

    एमालेले पार्टी विधान संशोधन प्रस्तावसहित झण्डामा रहेको हँसिया-हथौडाको सेतो रङलाई सुनौलो बनाउने उल्लेख गरेको छ। हाल झण्डाको रातो पृष्ठभूमिमा सेतो हँसिया-हथौडा रहेको छ, जसलाई अब सुनौलो बनाउने तयारी छ।

    पार्टीले पूर्वराष्ट्रपति भण्डारीको योगदानलाई स्मरण गर्दै ‘गणतन्त्रको गौरव’का रूपमा सम्मानित गरिनुपर्ने धारणा राखेको छ। अपानिमा भनिएको छ, “सिङ्गो राष्ट्रको नेतृत्व गरिसकेकी व्यक्तिलाई फेरि पार्टी कार्यकर्ता बनाउनु उपयुक्त होइन। उहाँ राष्ट्रको गहना हुनुहुन्छ।”

    एमालेले आफ्नो विधान संशोधन मस्यौदामार्फत ७० वर्षे उमेर हद हटाउने, नेतृत्वमा दुई कार्यकालको सिमा हटाउने, १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने, र पार्टी सदस्यता दुई किसिमको बनाउने प्रस्ताव गरेको छ।

    यस निर्णयपछि एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यताको नवीकरण समेत नगर्ने स्पष्ट गरेको छ। पार्टी भित्र ‘सम्माननीय’ व्यक्तिहरूबारे गरिने छलफलले एकता कमजोर पार्ने भएकाले भविष्यमा यस्ता बहस नगर्न सबैलाई सचेत गराइएको छ।