२६ साउन २०८२ सोमबार | 11 Aug 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको आग्रह : 'हरेक नेपालीले साउन १५ मा खुसीसाथ खीर खान पाउने वातावरण बनाउँ'



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या १०९
  • काठमाडौं, साउन १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको सांस्कृतिक र पारिवारिक एकताको प्रतीकका रूपमा मनाइने साउन १५ लाई अझ समावेशी बनाउँदै सबै नागरिकले खीर खान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

    नेकपा (एमाले) अन्तर्गतको साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित ‘स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम’मा बोल्दै प्रधानमन्त्री ओलीले, “देशभरिका नेपालीले साउन १५ लाई हर्षोल्लासका साथ मनाउन पाउने अवस्था सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो,” भन्दै सामाजिक तथा सांस्कृतिक सहभागिता बढाउनुपर्ने बताए।

    उनले आर्थिक, भौगोलिक वा अन्य कुनै कारणले कोही पनि नागरिक यो परम्परागत रमाइलोबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो वातावरण बनाउनु जरुरी रहेको धारणा राखे।

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो वर्ष तराई–मधेश क्षेत्रमा परेको सुक्खाका कारण कृषिमा असर परेको बताउँदै त्यसको समाधानका लागि सरकारले सिँचाइ योजनाहरूलाई प्राथमिकतामा राखेको जानकारी पनि दिए। उनले सुनकोशी–मरिन डाइभर्सन, रानी जमरा कुलरिया, र तमोरजस्ता सिँचाइ आयोजना छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गरे।

    साउन १५ मा खीर खाएर सामाजिक सद्भाव बढाउने नेपाली परम्परालाई सबै वर्ग, जाति र क्षेत्रका नागरिकले आत्मसात् गर्न सकून् भन्ने प्रधानमन्त्री ओलीको सन्देशले राष्ट्रिय एकताको भावना झनै सुदृढ पार्ने अपेक्षा गरिएको छ।