काठमाडौं, साउन १६ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट नेताहरूमा ‘स्टालिन प्रवृत्ति’ हावी भएको गम्भीर आरोप लगाएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटोसहित पोस्ट गर्दै भट्टराईले लेखेका छन्, “नेतृत्वसँग असहमति जनाउनेहरूलाई आरोप लगाएर पार्टी र सत्ताबाट सदाको लागि विदा गरिँदैछ। यो प्रवृत्ति स्टालिनकालीन 'ग्रेट ट्रायल'को झल्को दिन्छ।”
उनले एमाले र माओवादी दुवै पार्टीभित्र विचारहीनता, निषेधको राजनीति र स्वार्थमुखी संघर्ष मौलाएको बताए। “कम्युनिष्ट आन्दोलन विचार र उद्देश्यभन्दा गुट र सत्ता–केन्द्रित बन्दै गएको छ,” भट्टराईले भने।
उनले टिप्पणी गरे – “हामी इतिहासबाट यो मात्र सिक्छौं कि हामी इतिहासबाट केही सिक्दैनौं।”
उनका अनुसार आजका नेताहरू ‘समाजवाद’को नाममा कार्यकर्तालाई भ्रमित पार्दै, आलोचकहरूलाई एक–एक गरेर संगठनबाट हटाउने प्रयासमा छन्।
“नेताले अर्को नेतालाई ठोकेकोमा ताली पिट्ने कार्यकर्ताले अन्ततः आफू नै त्यही हालतमा पुग्दा आँसु झार्ने दिन आउँछ,” भट्टराईले लेखे।
भट्टराईको तर्क अनुसार, नेपालका कम्युनिष्ट दलहरू सत्तामा पुगेर पनि जनताको पक्षमा परिवर्तन ल्याउन असफल भएका छन्। उनले अहिलेको अवस्थालाई ब्रेजनेभ कालको ‘गतिहीन युग’सँग तुलना गरे।
उनले अन्तमा कम्युनिष्ट कार्यकर्ताहरुलाई भावनात्मक मोह तोडेर वैकल्पिक सोच र नीतिको बाटो रोज्न आग्रह गरे।
प्रतिक्रिया दिनुहोस