६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भट्टराईको कारागार भ्रमण: ‘पञ्चायती शैलीमा रविलाई सूचनाबाट बञ्चित गरिएको छ’



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६२
  • भैरहवा, साउन २२ - नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवामा भेटेका छन्। पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा सहभागी हुन जाँदै गर्दा उनी बिहानै जेल पुगेका थिए।

    भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै भट्टराईले लामिछानेलाई थुनामुक्त गरेर मुद्दा बाहिर बसेर लड्न दिनुपर्ने तर्क प्रस्तुत गरे। “जनताको प्रत्यक्ष निर्वाचित प्रतिनिधिलाई भाग्ने वा प्रमाण नष्ट गर्ने जोखिम नभएकाले थुनामा राख्नु आवश्यक छैन,” उनले भने, “उनी सांसद छन्, भागेर जाने वा झनै समस्या गर्ने सम्भावना देखिँदैन।”

    भट्टराईले रविलाई जमानत वा वैकल्पिक कानुनी माध्यममार्फत बाहिर ल्याएर जनताको सेवामा लाग्न दिनुपर्ने वा यदि त्यो सम्भव छैन भने सांसद पद खारेज गरेर नयाँ निर्वाचन गराउनुपर्ने सुझाव समेत सभामुखसमक्ष राखिसकेको जानकारी दिए।

    जेलभित्रको अवस्थाबारे बोलेपछि भट्टराईले रविलाई न पत्रिका पढ्न दिइएको, न खुला ठाउँमा राखिएको भन्दै असन्तोष व्यक्त गरे। “पञ्चायती शासनमा पनि हामी पत्रिका पढ्थ्यौं, अहिले त झनै कठोरता देखियो,” उनले भने, “सूचनाबाट यसरी बञ्चित गर्नु लोकतान्त्रिक मूल्य विपरीत हो। मैले प्रहरीलाई सोध्दा कुनै प्रतिबन्ध आदेश नभएको बताए।”

    जेलको कोठा साँघुरो भएको र रविलाई एक्लै राखिएको पनि उनले बताए। भट्टराईले यस्तो अवस्थाबारे सम्बन्धित निकायमा गम्भीर रूपमा कुरा उठाउने प्रतिबद्धता जनाए।

    “रवि राजनीतिक बन्दी हुन्, उनीप्रति सद्भाव राख्दै भेट्न आएको हुँ,” भट्टराईले भने। उनले लामिछानेप्रति सरकारले प्रतिशोधको भावना देखाएको आरोपसमेत लगाउँदै, न्यायको पक्षमा उभिन आफूले हस्ताक्षर संकलनमा समेत समर्थन जनाएको बताए।