काठमाडौं, वैशाख ३० - प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मै राजीनामाको माग गरेका हुन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख डीपी अर्यालले प्रस्ताव पेश गर्न अनुमति दिएपछि विपक्षी दलहरूले आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमबारे जवाफ दिनुपर्ने विषयमा अर्थमन्त्रीलाई अघि सारिएको भन्दै विपक्षी सांसदहरूले विरोध गरेका हुन् । त्यसक्रममा केही समय संसद् बैठक तनावग्रस्त बनेको थियो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएको आरोप लगाउँदै अनुपस्थित रहने हो भने पदमा बसिरहनुको औचित्य नरहने टिप्पणी गरे । उनले प्रधानमन्त्रीले सदनप्रति उत्तरदायी हुनुपर्ने धारणा पनि राखे ।
विपक्षी दलहरूको विरोधबीच संसद् बैठकमा नाराबाजीसमेत भएको थियो । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सत्तापक्ष र विपक्षबीच आरोप–प्रत्यारोप चलिरहँदा बैठकको वातावरण केहीबेर असहज बनेको थियो ।
प्रतिक्रिया दिनुहोस