काठमाडौं, वैशाख २९ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह संसद् बैठकबाट बाहिरिएको विषयलाई लिएर आपत्ति जनाएको छ। कांग्रेसले उक्त घटनाबारे प्रधानमन्त्रीसँग स्पष्ट जवाफ मागेको हो।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद वासना थापा ले बोल्दै राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री संसद्बाट बाहिरिनु असामान्य र गम्भीर विषय भएको बताइन्।
उनले यस्तो घटना लोकतान्त्रिक संसदीय अभ्यासमा विरलै देखिने भन्दै यसले संवैधानिक संस्कार, संसदीय मर्यादा र सरकारको उत्तरदायित्वमाथि प्रश्न उठाएको उल्लेख गरिन्।
सांसद थापाले संसद्भित्र सरकारको उपस्थिती, गम्भीरता र आचरणले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास झल्काउने बताउँदै यस्ता गतिविधि दोहोरिन नहुने धारणा राखिन्।
उनले प्रधानमन्त्रीसँग घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र जनविश्वास हुने विषयमा सरकार सचेत हुनुपर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस