३० बैशाख २०८३ बुधबार | 13 May 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवनमा हुने भयो रास्वपाको पहिलो महाधिवेशन, असारमा हुने



  • अञ्जना ढकाल
  • ७ घण्टा अघि
  • पाठक संख्या २७
  • काठमाडौं, वैशाख ३० - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो ।

    पार्टीका नेता गणेश पराजुलीका अनुसार बैठकले चितवनलाई महाधिवेशन स्थल चयन गर्दै तीन दिने कार्यक्रम तय गरेको हो । यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए । तर छलफलपछि एक दिन पछि सार्दै असार ७ देखि ९ गतेसम्म गर्ने सहमति बनेको जनाइएको छ ।

    महाधिवेशन लगायत समसामयिक राजनीतिक र सांगठनिक विषयमा छलफल गर्न रास्वपाले बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको थियो । बैठकमा संगठन विस्तार, सदस्यता व्यवस्थापन र आगामी रणनीतिबारे पनि छलफल भइरहेको बताइएको छ ।

    रास्वपाले यसअघि निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टीले भदौभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था रहेको थियो ।

    २०७९ सालमा स्थापना भएको रास्वपाले पहिलो महाधिवेशनमार्फत पार्टी संरचना थप व्यवस्थित गर्ने तयारी गरेको जनाएको छ ।