काठमाडौँ, भदौ ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने पहल सरकारको ठूलो गल्ती भएको टिप्पणी गरेका छन्।
मंगलबार पार्टी कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सुरुदेखिनै सरकारले निरन्तर गलत कदम उठाउँदै आएको आरोप लगाए। “सरकार गठन भएदेखि अहिलेसम्म राम्रो भन्दा पनि गल्तीमै केन्द्रित भएको छ,” प्रचण्डले भने।
उनका अनुसार उपसभामुख रानामगर केवल राजनीतिक हैसियतमा मात्र नभई आदिवासी जनजाति समुदायकी प्रतिनिधि र सामाजिक सेवा, बालबालिका हेरचाह क्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याइसकेकी व्यक्तित्व हुन्। “यस्ता व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु अन्याय हो, हाम्रो पार्टी त्यसको कडा प्रतिवाद गर्छ,” उनले चेतावनी दिए।
पत्रकारहरूले रानामगरमाथि उठेका आरोपबारे प्रश्न गर्दा प्रचण्डले ती सबैलाई अस्वीकार गर्दै प्रमाणरहित र कपोलकल्पित भएको दाबी गरे। “उनले कुनै गलत काम गरेकी छैनन्, सबै आरोपहरू झुटा छन्,” प्रचण्डले स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस