काठमाडौं, भदौ ३१ - जेनजी आन्दोलनपछि राजधानी उपत्यका क्रमशः शान्ति तर्फ फर्किँदै छ। भदौ २३ र २४ गते भएको विरोधप्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले राजधानीसहित देशभरका प्रमुख सरकारी र राजनीतिक संरचनामा ठूलो क्षति पुर्याएका थिए।
प्रदर्शनकारीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भवन कब्जा गरी तोडफोड गरेका थिए भने दलका कार्यालय, नेताका निवास र व्यापारीका भवनमा समेत आगजनी गरेका थिए। यस घटनाले राज्य सुरक्षामा ठूलो चुनौती खडा गरेको थियो।
उच्च सुरक्षा जोखिमका कारण नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट उद्धार गरी शिवपुरीस्थित ब्यारेकमा लगेको थियो। त्यस्तै, प्रचण्डलाई सिंहदरबारस्थित कार्यालयबाटै सुरक्षित स्थलमा लैजाने व्यवस्था गरिएको थियो।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणामाथि भने प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमा आक्रमण गरेका थिए। उनीहरूलाई सेनाले उद्धार गरी अस्पतालमा भर्ना गरिएको थियो। यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा आगजनी हुँदा उनकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन्।
जेनजी आन्दोलनकै क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवास पनि जलेको थियो। तर, उनी सेनाको ब्यारेकमा नभई आफन्तको घरमा बस्ने निर्णय गरेका थिए।
उच्च स्रोतका अनुसार, हालसम्म ओली र देउवा मात्र सेनाको विशेष सुरक्षा अन्तर्गत रहेका छन् भने बाँकी पूर्वप्रधानमन्त्री र निवर्तमान मन्त्रीहरू क्रमशः आफ्ना घर फर्किसकेका छन्।
प्रतिक्रिया दिनुहोस