काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले नेतृ सुमना श्रेष्ठप्रति लक्षित आफ्नो विवादास्पद भनाइ फिर्ता लिएका छन्।
हालै सम्पन्न केन्द्रीय समिति भर्चुअल बैठकमा उनले भावनामा बग्दै अनुचित अभिव्यक्ति दिएको स्वीकार गर्दै क्षमायाचना गरेका हुन्। ढकालले भने, “मैले अनावश्यक रूपमा बोलेँ, त्यसले असहज स्थिति सिर्जना गर्यो” भन्दै आत्मालोचना गरेका स्रोतले जनाएका छन्।
केही दिनअघि बसेको बैठकमा अध्यक्ष रवि लामिछानेको जेलमुक्ति सम्बन्धी विषयमा छलफल गर्दा सुमना श्रेष्ठ र ढकालबीच तीव्र वादविवाद भएको थियो। त्यही क्रममा ढकालले श्रेष्ठलाई ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखानसहित कठोर टिप्पणी गरेका थिए।
श्रेष्ठले त्यसको केही दिनमै पार्टी परित्याग गरेपछि ढकालप्रति नेताहरूबीच असन्तुष्टि बढेको थियो। तर पछिल्लो बैठकमा उनले स्वेच्छाले मुद्दा उठाउँदै माफी मागेपछि विवाद केही थामिएको देखिएको छ।
स्रोतका अनुसार असन्तुष्ट नेताहरू मौन बसे भने वरिष्ठ नेताहरूले पनि कुनै प्रतिक्रिया दिएका छैनन्।
बैठकले असोज २ गतेदेखि नियमित गतिविधि सुरु गर्ने निर्णय गरेको छ। साथै आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको सरसफाइ र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
प्रतिक्रिया दिनुहोस