काठमाडौं, असोज २ - काठमाडौं महानगर प्रहरीले जेन–जी आन्दोलनका क्रममा आगजनी भएका स्थानमा दमकल नपठाएको भन्ने आलोचनालाई खण्डन गरेको छ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आन्दोलनकै कारण सुरक्षामा चुनौती उत्पन्न हुँदा समयमै दमकल परिचालन गर्न कठिनाइ भएको स्पष्ट पारे।
बिहीबार बागदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “दमकल जानसक्ने अवस्थामा ढिलाइ गरेका छैनौँ। तर आन्दोलन, तोडफोड र ढुंगामुढा भइरहेकाले तत्काल निस्कन सकेन। चाबहिलमा दमकलमाथि नै ढुंगामुढा भयो, नेपाली सेनाको गाडीमाथि पनि आक्रमण भयो। त्यसैले हामी प्रतीक्षा गर्न बाध्य भयौँ।”
उनका अनुसार राति सवा ८ बजेदेखि पौने १० बजेसम्म सिंहदरबारमा दुई दमकल लगेर आगो नियन्त्रणमा लिइएको थियो। नेपाली सेनाले सुरक्षाको जिम्मा लिएपछि समन्वय गरेर भाटभटेनी, हिल्टन होटल, सर्वोच्च अदालत र सिंहदरबारलगायतका स्थानमा पटक–पटक दमकल परिचालन गरिएको उनको दाबी छ।
पाण्डेले थपे, “महानगरले दमकल नपठाएको भन्ने कुरा पूर्णत: गलत हो। हामीले सुरक्षाको प्रत्याभूतिसँगै दमकल परिचालन गर्यौँ। आगो निभाएर पनि फेरि सल्केकाले दशौँ पटक जानुपर्यो।”
उनले आन्दोलनका क्रममा घाइतेको उपचारदेखि खानपानको व्यवस्था गर्नसमेत महानगर सक्रिय भएको उल्लेख गरे।
महानगरपालिकाले उपत्यकाभित्र हाल पाँचवटा दमकल सक्रिय रूपमा परिचालनमा रहेको जानकारी पनि सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस