काठमाडौं, असोज २२ - काठमाडौं महानगरका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध दोस्रो जाहेरी पनि प्रहरीमा पुगेको छ।
युवराज सफल नामका व्यक्तिले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर दुबैजनाविरुद्ध जाहेरी दिएका हुन्। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी प्राप्त भएको पुष्टि गर्दै भने, “आज पनि बालेन साह र सुदन गुरुङविरुद्ध जाहेरी आएको छ। यससँगै दुई वटा जाहेरी प्राप्त भएका छन्।”
यसअघि मंगलबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले पनि दुबैजनाविरुद्ध जाहेरी दिएका थिए। तर दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन।
प्रहरी स्रोतका अनुसार हालसम्म प्राप्त जाहेरीहरू उच्चस्तरीय छानबिन आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले आयोगमै पठाउने तयारी भइरहेको छ।स्रोतले भन्यो, “यी मुद्दा आयोगकै अधिकारभित्र पर्छन्, त्यसैले जाहेरी आयोगमा पठाइनेछ।”
२३ र २४ भदौमा भएका घटनाहरूको छानबिनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको छ।
यसअघि सुदन गुरुङ नेतृत्वको समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध पनि जाहेरी दर्ता गर्न माग गर्दै पुगेको थियो। उक्त जाहेरी पनि प्रहरीबाट दर्ता नगरी आयोगमा पठाइएको थियो।
हालका जाहेरीमा बालेनले सिंहदरबारमा लागेको आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको आरोप लगाइएको छ। घटनाको औपचारिक छानबिनका लागि आयोगले नजिकबाट निगरानी गर्ने तयारी गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस