२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी आन्दोलन विवाद : गृहमन्त्रीको प्रश्न - ‘मंगलबार नै पक्राउ गर्न सकिँदैन ?’



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या ७५
  • काठमाडौँ, असोज २१ - भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक तथा कानुनी विवाद चुलिएको छ। आन्दोलनकारीहरूको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको माग तीव्र बनेको छ।

    सोमबार साँझ ‘हामी नेपालका’ नामक समूहका संयोजक सुदन गुरुङसहितको टोली जाहेरी दर्ता गर्न काठमाडौं जिल्ला प्रहरी परिसर पुगेको थियो। तर प्रहरी प्रशासनले सो जाहेरी दर्ता गर्न अस्वीकार गरेको बताइएको छ।

    यसपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति नै बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षाका शीर्ष अधिकारीहरूसँग आपतकालीन बैठक डाकेर विषयमा छलफल गरेकी थिइन्। छलफलमा प्रहरीले केन्द्रीय सुरक्षा समितिको आदेश बिना जाहेरी दर्ता गर्न कठिन हुने बताएको थियो।

    गृहमन्त्री अर्याल भने तत्काल कदम चाल्ने पक्षमा थिए। गृह मन्त्रालयका एक अधिकारीका अनुसार उनले प्रहरीलाई सोधे — ‘मंगलबार नै पक्राउ गर्न मिल्दैन ?’ तर सुरक्षा निकायले संयमता अपनाउन सुझाव दिएको थियो।

    स्रोतका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्रीलाई गोली चलाउने जिम्मेवारहरूलाई नछोड्न आग्रह गरेका थिए।

    हाल पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगले प्रतिवेदन तयार पार्ने तयारी गर्दैछ। आयोगको निष्कर्ष आएपछि मात्रै पक्राउ वा अन्य कानुनी प्रक्रिया अघि बढाउने कि तत्काल निर्णय लिने भन्नेबारे सरकारभित्र छलफल जारी रहेको जनाइएको छ।