१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेकपा विप्लवले आकस्मिक केन्द्रीय समिति बैठक बोलायो, वाम एकता मुख्य एजेन्डा



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ३०१
  • काठमाडौँ, असोज २६ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ।

    जेनजी विद्रोहपछिको बदलिँदो राजनीतिक परिस्थिति र वामपन्थी एकता सम्बन्धी विषयलाई केन्द्रमा राख्दै आज दिउँसो २ बजे कपिलवस्तुको शिवगढीमा बैठक बस्ने कार्यक्रम तय गरिएको छ।

    पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’का अनुसार शनिबार बसेको स्थायी समिति बैठकले आकस्मिक केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको हो। उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा, वामपन्थी शक्तिहरूबीच एकता तथा ध्रुवीकरणका सम्भावनाबारे गहिरो छलफल हुनेछ।

    विरहीले भने, “विचार मिल्ने सबै वामपन्थी दलहरूसँग एकता र ध्रुवीकरणका लागि बैठकले ठोस निर्णय गर्नेछ। साथै, वर्तमान राजनीतिक दिशाबारे नयाँ दृष्टिकोण तयार पार्ने तयारी पनि भएको छ।”

    महासचिव विप्लव हालै काठमाडौं आएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेतासँग भेट गरी वाम एकता विषयमा प्रारम्भिक छलफल गरिसकेका छन्।

    यसअघि भदौ २३ देखि २६ गतेसम्म बसेको नियमित केन्द्रीय समिति बैठकले फागुनमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, जेनजी आन्दोलनका कारण देशको राजनीतिक परिदृश्यमा आएको तीव्र परिवर्तनले विप्लव नेतृत्वले एक महिनाभित्रै आकस्मिक बैठक बोलाउन बाध्य भएको देखिन्छ।

    बैठकबाट वामपन्थी एकतालाई नयाँ गतिमा अघि बढाउने तथा विशेष महाधिवेशनका तयारीलाई तीव्रता दिने अपेक्षा गरिएको छ।