काठमाडौं, कार्तिक ५ - प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीबारे प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गरेकी छिन्। मंगलबार साँझ बालुवाटारमा आयोजित बैठकमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २० दलका शीर्ष नेताहरू सहभागी थिए।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका नेताहरू सहभागी थिए।
बैठकका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र एमाले महासचिव शंकर पोखरेलबीच तीखो प्रश्नोत्तर भएको स्रोतले जनाएको छ। गृहमन्त्री अर्यालले एमालेले आफूलाई अनावश्यक रूपमा निशाना बनाएको आरोप लगाए। उनले भने, ‘म राजनीतिमा भिक्टिम बनेको छु, एमालेहरूले ममाथि बढी टार्गेट गरेका छन्।’
त्यसको जवाफमा एमाले महासचिव पोखरेलले गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै भने, ‘तिमी गृहमन्त्री भएर पनि जिम्मेवारीअनुरूप काम गरिरहेका छैनौ। सुरक्षा निकायलाई दुरुपयोग गर्ने र धम्क्याउने शैली उपयुक्त होइन।’
पोखरेलले गृहमन्त्रीका अभिव्यक्तिलाई ‘अति भएको’ बताउँदै उनले कसैलाई ‘पकडिहाल्ने’ वा ‘थुनेर राख्ने’जस्ता कुरा गम्भीर जिम्मेवारीमा बस्ने व्यक्तिका लागि अनुचित भएको टिप्पणी गरे।
त्यसपछि गृहमन्त्री अर्यालले आफू पनि एमालेबाटै राजनीतिमा प्रवेश गरेको स्मरण गर्दै भने, ‘म पनि २०४७ पछिको एमाले हुँ। एमालेले पहिले कसरी काम गर्थ्यो र अहिले के गर्दैछ भन्ने मलाई राम्रो थाहा छ।’ उनले अहिलेको एमाले ‘थर्काउने र गुण्डागर्दी प्रवृत्तिमा उत्रिएको’ भन्दै असन्तुष्टि जनाए।
बैठकमा अर्यालले सरकारलाई दलहरूकै कारण सुरक्षा चुनौती बढेको आरोप लगाए। उनका अनुसार भक्तपुरतर्फबाट दुर्गा प्रसाईं र महेश बस्नेतजस्ता नेताहरूका क्रियाकलापले शान्ति–सुरक्षामा दबाब बढेको छ।
प्रधानमन्त्री कार्की छलफलमा अपेक्षाकृत नरम मुद्रामा देखिएकी थिइन्। उनले दलहरूबीच समन्वय र विश्वासको वातावरण सिर्जना गरेर तोकिएको समयमा निर्वाचन सम्पन्न गराउने अडान दोहोर्याइन्।
उनले भनिन्, ‘चुनावको जिम्मेवारी सरकारको हो, तर राजनीतिक दलहरू नै मुख्य स्टेकहोल्डर हुन्। सबैको सहकार्य आवश्यक छ।’
छलफलमा केही दलहरूले निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने धारणा राखे भने, केही नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग पनि दोहोर्याए।
बैठकमा सहभागी नेताहरूले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, भागेका कैदी र लुटिएका हतियारहरू निर्वाचन सुरक्षाको मुख्य चुनौती भएको औंल्याए। उनीहरूले गृहमन्त्री अर्यालले ‘थुनेकालाई छाड्नुपर्छ’ भन्ने अभिव्यक्ति दिँदै सुरक्षा निकायको मनोबल कमजोर बनाएको भन्दै आलोचना पनि गरे।
एमाले महासचिव पोखरेलले गृहमन्त्रीको कार्यशैलीलाई ‘हाँस्यास्पद र उत्तेजक’ ठहर गर्दै भने, ‘जिम्मेवार पदमा रहेर उक्साउने र आरोप लगाउने काम गृहमन्त्रीको लागि शोभनीय होइन।’
बैठकमा अधिकांश नेताहरूले सरकारले निर्वाचनपूर्व शान्ति–सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे। गृहमन्त्रीले भने सुशासन र कानूनको शासन कायम राख्नु सरकारको दायित्व भएको भन्दै दलहरूलाई सहकार्यको आग्रह गरे।
प्रतिक्रिया दिनुहोस