काठमाडौं, कार्तिक २८ — आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई औपचारिक आह्वान गरेको छ। आयोगका अनुसार निर्धारित म्यादभित्र दल दर्ता नगरेका दलहरूले चुनावमा सहभागी हुन नपाउनेछन्।
आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलहरूले मंसिर १ देखि १० गतेसम्म दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ। त्यस्तै, राष्ट्रिय सभा चुनावमा प्रतिस्पर्धा गर्ने दलका लागि दर्ता अवधि मंसिर १ देखि ७ गतेसम्म निर्धारण गरिएको छ।
निर्वाचन प्रयोजनका लागि प्रयोजनको दल दर्ता प्रमाणपत्र कात्तिक ३० गतेभित्र अनिवार्य रूपमा प्राप्त भइसकेको हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको छ। राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ, जसमा एक जना राष्ट्रपतिको कोटाबाट मनोनित सदस्य पनि शामिल छन्। बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुनेछ।
प्रदेशगत प्रतिनिधित्वअनुसार कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिमबाट २–२ गरी कुल १८ स्थानका लागि मतदान हुनेछ।
राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य, नगरपालिका–नगर प्रमुख तथा उपप्रमुख, र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष हुने व्यवस्था छ। आयोगले अबको निर्वाचन प्रक्रिया सहज र व्यवस्थित बनाउन तयारी तीव्र बनाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस