१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सामाजिक सेवा–मुखी संस्थामा राजनीतिक हस्तक्षेप? सदस्यबीच चासो बढ्यो



  • सिमोन भट्टराई
  • ९ महिना अघि
  • पाठक संख्या ४२४
  • कुवेत — कुवेतमा हालै गठन गरिएको एक सामाजिक संस्थाभित्र राजनीतिक प्रभाव प्रवेश गरेको आरोप सार्वजनिक भएपछि संस्थाभित्र आन्तरिक तनाव बढेको छ। सामाजिक सेवा, सहयोग र एकताको उद्देश्यसहित स्थापना गरिएको संस्थामा केही व्यक्तिहरूले व्यक्तिगत राजनीतिक स्वार्थ पूरा गर्न खोजेको गुनासो आएपछि सदस्यहरूबीच गम्भीर प्रश्न उठेको छ।

    सदस्यहरूका अनुसार, संस्थाभित्रका केही व्यक्तिहरूले राजनीतिक दलसँग नजिक भएर अन्य सदस्यहरूलाई समेत पार्टीमा आकर्षित गर्ने प्रयास गरिरहेका थिए। यस्ता गतिविधिले संस्थाको विश्वसनीयता, छवि र निष्पक्षतामा प्रत्यक्ष असर पर्ने भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। एक सदस्यका अनुसार “सामाजिक उद्देश्यका लागि बनेको संस्थामा राजनीति घुसाउनु संस्थावाद र पारदर्शितामा प्रश्न उठाउने काम हो। संस्थालाई कसैको व्यक्तिगत राजनीतिक लाभको माध्यम बनाउन मिल्दैन।

    यस घटनापछि संस्थाभित्र स्पष्टिकरणको माग बढेको छ भने कुवेतस्थित नेपाली समुदायमै पनि विषयले व्यापक ध्यान खिचेको छ। राजनीतिक प्रयोजनको आरोपपछि सल्लाहकारको स्पष्ट प्रतिक्रिया आएको छ र युवा शक्ति कुवेत संस्थाभित्रको विवाद थप चर्किएको छ।

    संस्थाका सल्लाहकारले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै संस्थाको नाम र सदस्यहरूको पहुँचलाई प्रयोग गरेर राजनीतिक दलमा सदस्यता दिलाउन खोजिएको गुनासो ३–४ जनाबाट आएको बताए। उनका अनुसार, गुनासो समूहमै प्रष्ट पार्ने प्रयास गर्दा संस्थाभित्रकै केही व्यक्तिबाट व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप भयो भन्ने प्रतिक्रिया आएको बताइएका छन्।

    सल्लाहकारका शब्दमा, “कसैले राजनीतिक दलमा लाग्नु व्यक्तिगत अधिकार हो। हामीले पनि सम्मानपूर्वक शुभकामना दिएका थियौँ। तर संस्थाको नाम, छवि र सदस्यहरूलाई प्रयोग गरेर राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास स्वीकार्य छैन। युवा शक्ति कुवेत नातावाद वा कृपावाद होइन, सत्य र पारदर्शितामा चल्ने संस्था हो।”

    सल्लाहकारले आफू सल्लाहकार रहुञ्जेल कुनै पनि राजनीतिक दलमा नलाग्ने र संस्थालाई राजनीतिक प्लेटफर्म बन्न नदिने कडा प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले थपे, “संस्थालाई आड बनाएर राजनीति गर्ने गतिविधि सह्य हुँदैन। म सल्लाहकार रहुञ्जेल राजनीति गर्न पनि सक्दिन, अरूलाई गर्न पनि दिन्न।”

    यसबाहेक, आफूविरुद्ध कसैले आरोप वा शंका राखेको छ भने प्रमाणसहित सार्वजनिक गर्न चुनौती दिएका छन्। उनका अनुसार, संस्था पारदर्शिता, मर्यादा र उत्तरदायित्वमै अघि बढ्नेछ। अन्त्यमा उनले संस्थाका सबै सदस्य र समुदायलाई मूल उद्देश्य जोगाउन आग्रह गर्दै भने "जय युवा शक्ति, जय देश"