१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कांग्रेस नेताको दाबी : ‘अबको विकल्प विशेष महाधिवेशन र गगन थापा’



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १६३
  • काठमाडौं, मंसिर १० — नेपाली कांग्रेस गोरखा-२ का क्षेत्रीय सभापति गोविन्द गुरुङले पार्टीको वर्तमान अनिर्णय र नेतृत्व संकटको समाधान विशेष महाधिवेशन र गगन थापा मात्रै भएको बताएका छन्।

    राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष महाधिवेशन समर्थन ग्यादरिङमा सम्बोधन गर्दै उनले अब स्पष्ट विकल्प रोज्नुपर्ने समय आएको जिकिर गरे।

    गुरुङको भनाइमा, पार्टीभित्र कुनै विशेष व्यक्तिको नाम लिनसमेत कतिपय नेता हिच्किचाइरहेका छन्। तर, युवापुस्ताको भावना प्रष्ट रहेको भन्दै उनले भने, “आम युवाले देखेको विकल्प गगन थापा नै हो। यो कुरा भन्न लाज मान्नु हुँदैन।”

    उनले हालका नेतृत्वले आफ्ना निकट समूहलाई फाइदा पुर्‍याउने अभिप्रायसहित भ्रष्टाचारमा परोक्ष रूपले संलग्न हुने वातावरण बनाएको आरोप लगाए। पार्टी सुधारको मागलाई हल्का रूपमा नलिन आग्रह गर्दै गुरुङले ५४ प्रतिशत महासमिति प्रतिनिधिको हस्ताक्षरलाई ‘सामान्य मतभेद’ ठान्नु गल्ती हुने बताए।

    “५४ प्रतिशत हस्ताक्षर कुनै साधारण संख्या होइन। ती महासमिति प्रतिनिधिहरू परिवर्तनका अभियन्ता हुन्,” गुरुङले बलियो स्वरमा भने। उनका अनुसार पार्टीलाई समयमै विशेष महाधिवेशनतर्फ लैजान ढिलाइ अब पार्टीको भविष्यसँग खेलवाड हुनेछ।

    विशेष महाधिवेशन पक्षधरहरूले आयोजित कार्यक्रममा गगन थापा नेतृत्वको विकल्पबारे खुला बहस चलेको थियो। पार्टीको पुनर्संरचना र दिशा परिवर्तन माग गर्दै उपस्थित प्रतिनिधिहरूले तत्कालीन निर्णय प्रक्रियामा सुधारको आवश्यकता औंल्याएका थिए।