१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमाले महाधिवेशनअघि ओली प्यानल तयार, पद बाँडफाँडमा दुई नेताको असहमति



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १४९
  • काठमाडौँ, मंसिर २९ – नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहँदा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा उम्मेदवार बन्ने नेताहरूको सूची तय गरेका छन्।

    तेस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिन खोजिरहेका ओलीको प्यानलमा भने सबै नेताबीच पूर्ण सहमति जुट्न सकेको छैन।

    स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको पदाधिकारी सूचीप्रति प्रदीप ज्ञवाली र लेखराज भट्टले असन्तुष्टि व्यक्त गरेका छन्। उपाध्यक्षका रूपमा प्रस्ताव गरिएका ज्ञवालीले महासचिव पदमा आफ्नो दाबी नछाडेको बताइएको छ। महासचिव नपाए केन्द्रीय सदस्यमा मात्र सीमित हुने चेतावनी उनले दिएको स्रोतको भनाइ छ।

    त्यस्तै सचिव पदमा नाम समावेश गरिएका लेखराज भट्टले सचिवमा प्रतिस्पर्धा नगर्ने अडान लिँदै उपमहासचिव पद पाउनुपर्ने माग अघि सारेका छन्।

    यी दुई नेताबाहेक अन्य पदाधिकारीका विषयमा भने सहमति भइसकेको दाबी गरिएको छ। अध्यक्ष ओलीको प्यानलअनुसार अध्यक्षमा केपी शर्मा ओली, महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ।

    उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ छन्। उपमहासचिवमा भानुभक्त ढकाल, विष्णु रिमाल र रघुवीर महासेठको नाम समावेश गरिएको छ।

    सचिव पदका लागि लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, यमलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत, शेरधन राई र खगराज अधिकारीको नाम अघि सारिएको छ।

    महाधिवेशनको मिति नजिकिँदै जाँदा एमालेभित्र पदाधिकारी चयनलाई लिएर आन्तरिक छलफल र रस्साकस्सी तीव्र हुँदै गएको देखिन्छ।