काठमाडौँ, पुस ७ - चुनावभन्दा पहिले सुशासन आवश्यक रहेको मागसहित माइतीघरमा प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्वपक्षीय सरकार गठन गरेर मात्र निर्वाचन प्रक्रियामा जानुपर्ने मागसहित मिराज ढुंगाना, रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरू माइतीघरमा भेला भएका थिए। ‘जेन–जीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागिए पनि प्रशासनले स्वीकृति नदिएको जनाइएको छ। अनुमति नपाउँदै प्रदर्शन सुरु भएपछि प्रहरीले हस्तक्षेप गर्दै सहभागीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नियन्त्रणपछि आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन्।
सम्भावित असहज अवस्था आउन नदिन माइतीघर क्षेत्र वरपर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। घटनास्थलमा मिडियाकर्मीहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ।
प्रतिक्रिया दिनुहोस