१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब कांग्रेसबाट दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १५५
  • काठमाडौँ, पुस २८ - नेपाली कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनले पार्टीभित्र विगतमा भएका कमजोरी सच्याउने संकल्पसहित १८ बुँदे नीतिगत सुधार प्रस्ताव अघि सारेको छ।

    प्रस्तावअनुसार अब कांग्रेसबाट एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति अवलम्बन गरिनेछ। सोमबार महाधिवेशनमा सांगठनिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको निरन्तरताले जनअसन्तुष्टि बढाएको उल्लेख गरेका छन्। चुनावपछि सरकार बदलिँदा पनि प्रधानमन्त्री उही रहने अभ्यासले न त अपेक्षित परिणाम दिएको न त नेतृत्वप्रति विश्वास बढाएको प्रतिवेदनमा उल्लेख छ।

    विशेष महाधिवेशनले भविष्यमा कांग्रेसबाट दुई पटक मात्रै प्रधानमन्त्री बन्ने व्यवस्था लागू गर्न संवैधानिक प्रबन्धका लागि पहल गर्ने संकल्प पनि गरेको छ। साथै, नीतिगत स्थिरता, बजेट विनियोजनमा न्याय, योजनाको आर्थिक सम्भाव्यता परीक्षण र असारे विकास अन्त्यजस्ता विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ।

    प्रस्तावमा आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने, राजनीतिक नियुक्तिमा भागबन्डा अन्त्य गर्ने, शिक्षा विधेयक तत्काल पारित गर्ने र शैक्षिक संस्थामा अराजकता नियन्त्रण गर्ने निर्णय समेटिएको छ। गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र श्रमिकको हकहितमा नेतृत्व लिने प्रतिबद्धता पनि गरिएको छ।

    त्यस्तै, बुढीगण्डकी जलविद्युत् परियोजनालाई सरकार, गैरआवासीय नेपाली र निजी क्षेत्रको सहभागितामा अघि बढाउन अपिल गर्दै महाधिवेशनले आन्तरिक सुशासन आयोग गठन, नातावादको अन्त्य र प्राइमरी निर्वाचन प्रणाली लागू गर्ने निर्णय गरेको छ। कांग्रेसले समयअनुकूल आफूलाई रूपान्तरण गर्दै पार्टीको ‘रिबिल्डिङ’ र ‘रिब्रान्डिङ’ गर्ने उद्घोष समेत गरेको छ।