काठमाडौँ, माघ १ - झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट बालेन शाह उम्मेदवार बन्ने तयारीमा जुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापास्थित कार्यकर्ताहरूले उनका लागि आवास व्यवस्थापन सुरु गरेका छन्।
रास्वपा झापा अध्यक्ष प्रकाश पाठकका अनुसार दमक नगरपालिका–३ अन्तर्गत क्याम्पस मोड आसपास दुई वटा घर भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने थप एक घरको खोजी भइरहेको छ। ती घरहरू बालेन शाहको आवास, सम्पर्क कार्यालय तथा पार्टीगत गतिविधिका लागि प्रयोग गरिने बताइएको छ।
‘झापा–५ बाट बालेन शाह उम्मेदवार बन्ने तयारी भएपछि आवास र सम्पर्क व्यवस्थापनका लागि तीन वटा घर आवश्यक परेको हो। दुई वटा घर टुंगो लागिसकेको छ,’ अध्यक्ष पाठकले जानकारी दिए।
उनका अनुसार रास्वपाका नेता तथा कार्यकर्तासहितको टोली आज झापा–५ पुग्दैछ। यसैबीच बालेन शाहसँग निकट रहेका केही इन्फ्लुएन्सरहरूले निर्वाचन क्षेत्र केन्द्रित प्रारम्भिक सर्भेक्षण समेत गरिरहेका छन्। उनीहरूले यसअघि पनि क्षेत्रको अवस्था बुझ्न सर्वे गरेको बताएका छन्।
निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरिरहेको बताइएको छ।
झापा–५ हाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। ओली यस क्षेत्रमा २०६४ साल बाहेक अन्य सबै निर्वाचनमा विजयी हुँदै आएका छन्। निर्वाचन आयोगका अनुसार झापा–५ मा १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन् भने ६१ मतदान स्थल र १८५ मतदान केन्द्र तोकिएका छन्।
प्रतिक्रिया दिनुहोस