धनगढी, माघ १३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह कैलाली–२ को घण्टीघर क्षेत्रमा नरोकी अघि बढेपछि त्यहाँ भेला भएका कार्यकर्ता तथा समर्थकहरू निराश भएका छन्।
बालेन शाह आउने सूचनापछि बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया बजारको घण्टीघर क्षेत्रमा समर्थकहरू बिहानैदेखि प्रतीक्षारत थिए। रास्वपा बर्दगोरिया क्षेत्रीय समितिले उनको स्वागत तथा अभिवादनका लागि विशेष कार्यक्रमसमेत तय गरेको थियो।
तर शाह साढे ९ बजेतिर बौनिया पुगे पनि कार्यक्रमस्थलमा नरोकी अगाडि बढेपछि माहोल खल्लो बनेको थियो। बालेन नरोकेको विषयलाई लिएर समर्थकहरूले व्यवस्थापनमा कमजोरी भएको भन्दै कैलाली–२ का उम्मेदवार केपी खनालप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै खनालले समन्वयको कमीका कारण शाहलाई त्यहाँ रोक्न नसकिएको स्वीकार गरे। “यहाँ स्वागत र भेटघाटको कार्यक्रम राखिएको थियो तर साथीहरूलाई व्यवस्थित गर्ने क्रममा केही ढिलाइ भयो,” उनले भने, “समस्या गम्भीर होइन, केवल समन्वय अभावकै कारण उहाँ यहाँ नरोकिनुभएको हो।”
खनाल रास्वपाबाट उम्मेदवार बनेका र बालेनकै समर्थनमा रहेका नेता हुन्। पार्टी नेताहरूका अनुसार बालेन शाह अछामसम्म पुगेर फर्किने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस