काठमाडौं, माघ १६ - नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान कांग्रेसले विगतका सकारात्मक पक्षलाई निरन्तरता दिँदै नकारात्मक अभ्यासहरू पूर्ण रूपमा त्यागेको दाबी गरेका छन्।
सर्लाही–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टी अब नयाँ सोच र स्पष्ट योजनासहित अघि बढेको बताएका हुन्।
सभापति थापाले कांग्रेसको इतिहासलाई अस्वीकार गर्ने प्रवृत्तिको आलोचना गर्दै विगतका सबै कुरा खराब थिए भन्ने धारणा गलत भएको बताए। उनले परम्परा, संस्कृति र मूल्यलाई उदाहरण दिँदै कांग्रेसको राम्रो इतिहासप्रति आफूहरू गर्व गर्छौं भन्ने स्पष्ट पारे।
उनले समयअनुसार सुधार आवश्यक रहेको उल्लेख गर्दै विगतका कमजोरीलाई सच्याएर नयाँ युगको मागअनुसार अघि बढ्नु नै अहिलेको कांग्रेसको बाटो भएको बताए। उनका अनुसार कांग्रेसले खराब अभ्यास मात्र छाडेको हो, राम्रो मूल्य र सोच भने जोगाएर राखेको छ।
सभापति थापाले वर्तमान कांग्रेससँग आगामी पाँच वर्षका लागि स्पष्ट योजना र देश परिवर्तन गर्ने दृढ संकल्प रहेको बताए। भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै लामो समयदेखि अधुरा रहेका कामहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विगतका गल्ती नदोहो¥याउने विश्वास दिलाए।
प्रतिक्रिया दिनुहोस