१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भ्रष्टाचार नियन्त्रणको पहिलो दायित्व सरकारकै हो : प्रधानमन्त्री कार्की



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या २६४
  • काठमाडौं, माघ २८ - प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार तथा कार्यकारी अंगकै भएको स्पष्ट पारेकी छन्।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।

    प्रधानमन्त्री कार्कीले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक संरचना, कानुनी तथा नीतिगत व्यवस्था पर्याप्त रहेको बताइन्। तथापि, ती संयन्त्र प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अपेक्षाकृत रूपमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको उनको भनाइ थियो।

    उनले भ्रष्टाचार निवारणकै माग राख्दै भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरू सडकमा उत्रिनुपरेको प्रसंग उल्लेख गर्दै यसले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताइन्। “भ्रष्टाचार नियन्त्रण किन प्रभावकारी हुन सकेन? युवाहरू किन आन्दोलनमा उत्रिन बाध्य भए? यी विषयमा सबैले गम्भीर आत्ममन्थन गर्नुपर्छ,” उनले भनिन्।

    प्रधानमन्त्री कार्कीले प्रत्येक निकायका प्रमुखले आफ्नो कार्यालयभित्र हुने भ्रष्टाचार तथा अनियमितताको जिम्मेवारी लिनुपर्नेमा जोड दिइन्। कार्यकारी अंगभन्दा बाहिरको संरचनातर्फ मात्र आशा राखेर समस्या समाधान नहुने उनको तर्क थियो।

    “प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि सम्बन्धित कार्यालय प्रमुख नै उत्तरदायी हुनुपर्छ,” उनले भनिन्, “यो जिम्मेवारीबोध राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व र सरोकारवाला सबैमा हुन जरुरी छ।”