काठमाडौँ, फागुन ३ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी सरकारको नेतृत्व गर्ने स्पष्ट उद्देश्यका साथ राजनीतिमा सक्रिय भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित चुनावी घोषणा–पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले देशको नेतृत्व गर्न सक्षम वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यसहित पार्टी स्थापना गरिएको उल्लेख गरे।
उनले राजनीति केवल सत्तामा पुग्ने माध्यम मात्र नभई मुलुकका जटिल समस्या समाधान गर्ने जिम्मेवारीपूर्ण क्षेत्र भएको बताए। संसदमा सशक्त उपस्थिति जनाउँदै जनताको आवाज बुलन्द गर्ने र आवश्यक परे विपक्षमा बसेर पनि प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।
घिसिङले सरकारमा पुगेपछि घोषणा–पत्रमा उल्लेख गरिएका प्रतिबद्धता कार्यान्वयनमा प्राथमिकता दिने बताए। “राजनीतिमा प्रवेश गर्नुको मूल उद्देश्य नै नेतृत्व गर्नु र जनतासामु गरिएका वाचा पूरा गर्नु हो,” उनले भने, “हामी सरकारमा गएर प्रतिवद्धताअनुसार काम गरेर देखाउँछौँ।”
अध्यक्ष घिसिङले मुलुकको दीगो समृद्धिका लागि जलविद्युत् क्षेत्रलाई मुख्य आधार बनाउनुपर्ने धारणा राखे। प्राकृतिक स्रोतको उचित उपयोग गर्दै ऊर्जा उत्पादन वृद्धि गर्न सके आर्थिक विकासले तीव्र गति लिने उनले विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस