काठमाडौं, फागुन १९ - सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले म्याद सूचना पाएको मितिदेखि बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गरी बन्दीसहित उपस्थित गराउन निर्देशन दिएको हो।
यस प्रकरणमा अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अनुसन्धानसँग सम्बन्धित सक्कल मिसिल झिकाउनसमेत आदेश गरेको छ।
यसअघि जिल्ला प्रहरी परिसर भक्तपुरले प्रसाईंलाई निर्वाचन भड्काउने प्रयास गरेको आरोप लगाउँदै सार्वजनिक शान्तिविरुद्धको कसुरमा नियन्त्रणमा लिएको थियो।
गिरफ्तारीपछि प्रसाईंले आफ्नो पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र उपस्थित गराउने आदेश दिएको छ।
प्रतिक्रिया दिनुहोस