काठमाडौँ, फागुन २५ - प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचनमा सहभागी मतदाता तथा विजयी उम्मेदवारहरूलाई धन्यवाद तथा बधाई दिएका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफू पदमा रहे पनि नरहे पनि सधैँ जनताको सेवामा समर्पित रहने बताएका हुन्।
शर्माले रुकुम पश्चिमका मतदातालाई विशेष धन्यवाद दिँदै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाएर निर्वाचन सफल बनाउन सहयोग गरेको उल्लेख गरे। उनले रुकुम पश्चिमबाट निर्वाचित भएका गोपाल शर्मालाई बधाई दिँदै जनताको अपेक्षा पूरा गर्दै जिल्लाको विकास र समृद्धिका लागि काम गर्न सुझाव दिएका छन्।
निर्माणाधीन विकास परियोजनाहरूलाई समयमै सम्पन्न गर्ने, गरिबी र बेरोजगारीका समस्या समाधान गर्ने तथा सुशासनसहित समृद्ध रुकुम निर्माण गर्ने दिशामा अघि बढ्न उनले विजयी प्रतिनिधिलाई आग्रह गरे। रुकुमको दीर्घकालीन विकासका लागि जिल्लाका सबै राजनीतिक दलहरूबीच सहकार्य र एकता आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, राष्ट्रिय राजनीतिको प्रसङ्ग उठाउँदै शर्माले यसपटकको निर्वाचनले राजनीतिक अस्थिरताको मानसिकतालाई मतदाताले अस्वीकार गरेको टिप्पणी गरे। उनले ऐतिहासिक जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहलाई विशेष बधाई दिएका छन्।
शर्माले जनताले दिएको विश्वासलाई सम्मान गर्दै सुशासन, आर्थिक विकास र सामाजिक न्यायसहितको समाज निर्माणतर्फ अघि बढ्न रास्वपालाई सुझाव दिएका छन्। संविधानको रक्षा गर्दै समृद्ध र विकसित नेपाल निर्माण गर्ने जिम्मेवारी अहिले नयाँ नेतृत्वको काँधमा आएको पनि उनले उल्लेख गरे।
देशभर निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई दिँदै उनले आफू एउटा जिम्मेवार नागरिकको हैसियतले राष्ट्रको हितमा हुने सकारात्मक काममा सधैँ साथ र समर्थन रहने बताएका छन्। साथै, रुकुमेली जनताले विगतदेखि देखाउँदै आएको विश्वास, माया र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस