१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आन्दोलनबाट सांसदसम्म: गोरखा–१ मा रास्वपाका सुधन गुरुङ स्पष्ट मतान्तरसहित विजयी



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १२७
  • गोरखा, फागुन २५ - गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले २९,८९६ मत पाए भने कांग्रेसका प्रेम खत्री १५,३९८ मतसहित दोस्रो स्थानमा रहे। नेकपाका हरिराज अधिकारी तेस्रो र एमालेका रामचन्द्र लामिछाने चौथो स्थानमा रहे।

    यस क्षेत्रको राजनीतिक इतिहास गतिरोधपूर्ण रहेको छ। २०७४ मा कांग्रेस माओवादीसँग पराजित भएको थियो भने २०७९ मा गठबन्धनसहित विजयी बनेको थियो। यस पटक रास्वपा, कांग्रेस र माओवादीबीच पुनः प्रतिस्पर्धा देखियो।

    सुधन गुरुङ सामाजिक आन्दोलन र जनसहभागिताबाट चर्चित बनेका छन्। विशेष गरी भदौ २३–२४ को जेनजी आन्दोलनमा उनले नेतृत्वको भूमिका निर्वाह गरेका थिए।

    राजनीतिक रूपमा उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र मन्त्रिपरिषद् विस्तारसम्म जोडिएका थिए। त्यसपछि रास्वपा बाट गोरखा–१ मा उम्मेदवारी दिएका थिए।

    गुरुङको जन्म काठमाडौँमा भए पनि उनका पुर्ख्यौली थलो चुमनुव्री गाउँपालिका–३ सिर्दिवास हो। बाल्यकाल सहरमै बिताए र मल्टी इन्टरनेसनल कलेजबाट ‘ए लेभल्स’ अध्ययन पूरा गरे।

    सामाजिक क्षेत्रमा उनी सक्रिय छन्। २०७२ सालको गोरखा भूकम्पपछि ‘हामी नेपाल’ संस्था खोलेर राहत र उद्धारमा खटिएका थिए। देश–विदेशका विभिन्न संघसंस्थासँग उनी संलग्न हुँदै सामाजिक काममा अग्रसर रहेका छन्।