काठमाडौँ, फागुन २७ - प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक प्रणालीअन्तर्गत प्राप्त मतको गणना सकिएसँगै अब सिट निर्धारणको प्रक्रिया अघि बढाइनेछ।
आयोगका अनुसार राजनीतिक दलहरूले पाएको सदर मतको आधारमा सिट बाँडफाँट गरिनेछ। त्यसपछि तय भएको सिट संख्याअनुसार सम्बन्धित दलहरूलाई समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट नाम सिफारिस गर्न पत्र पठाइनेछ।
निर्वाचन आयोगले दलहरूलाई तीन दिनभित्र बन्दसूचीबाट प्रतिनिधि सिफारिस गर्न आग्रह गर्ने तयारी गरेको जनाएको छ। दलहरूले पठाएको नाम सूची कानुनी मापदण्डअनुसार मिलेको वा नमिलेको आयोगले पुनः जाँच गर्नेछ।
जाँचपछि प्रक्रिया पूरा भएको ठहर भएमा आयोगले समानुपातिक प्रणालीतर्फबाट निर्वाचित हुने ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ। यससँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुग्ने आयोगको भनाइ छ।
प्रतिक्रिया दिनुहोस